काठमाडौ, वैशाख १४-
आइतबार दिउँसो ११ः०० बजे
स्थानः लैनचौरस्थित भुगर्भ विभाग
पुरानो भवनको दोस्रो तल्लामा रहेको ‘राष्ट्रिय भुकम्प मापन केन्द्र’मा आधा दर्जन भुगर्भविद्हरु तारान्तार आइरहेको भुकम्पको तथ्यांक अपडेटमा ब्यस्त थिए ।आइतबार बिहानदेखि भुकम्पको मात्रा घट्दै थियो । कम क्षमताका भुकम्प गइरहेकाले सर्वसाधारणहरु त्रसित थिए । भुगर्भविदहरु जतिसक्दो चाँडो भुकम्पको सूचना सम्प्रेषणमा ब्यस्त थिए । केही मिनेटको फरकमा साना भुकम्प गइनै रहेकाले भुगर्भविद् २४ अै घण्टा केन्द्रमा थिए । भुगर्भविद्ले भुकम्प आएको एक मिनेटमै कहाँ र कति क्षमताको गयो सम्प्रेषण गर्ने रहेछन् । मुलुकका विभिन्न भागमा भएका भुकम्प मापन केन्द्रहरुले केन्द्रको कम्प्युटर प्रणालीमा पठाएका सूचना केलाउँदै भुगर्भविद्हरु गृह मन्त्रालयको विपद व्यवस्थापन महाशाखाका अधिकारी र विभागमातहतको उद्योग मन्त्रालयका सचिव जयमुकुन्द खनाललाई जानकारी गराउँदै थिए ।विभागका उपमहानिर्देशक तथा भुगर्भविद डा.सोमनाथ सापकोटा भुकम्पकोक्रम घट्दै गएको र कम क्षमताका भुकम्प आउने संभावना बढी भएको भएको बताउँदै थिए । उनी भन्दै थिए, ‘मच्चिएको पिङ थच्चिन समय लागेजस्तै मात्रै हो । विस्तारै भुकम्प पनि रोकिन्छ ।’ त्यति भनेको केहीबेरमै १२ः५४ मा ठूलो झट्का हान्यो । भूकम्प मापनकेन्दै्र थरर थर्कियो, टिनको छाना हल्लियो, भुकम्पको तथ्यांक विश्लेषण गर्न राखिएका ४ वटा कम्प्युटर हल्लिए । ‘लौ मा¥यो’ भन्नै भुगर्भविद् पनि कम्प्युटर छोडेर बाहिर निस्किए ।सामान्य व्यक्तिको होस हवास त उठ्ने नै भयो । भुकम्प विश्लेषण गर्ने भुगर्भविद्को पनि होस हवास उड्ने रहेछ । जो आइतबार तीन घण्टा बस्दा केन्द्रमा देखियो । केन्द्र रहेको भवन नै थर्किएपछि विभागका उपमहानिर्देशक तथा भुगर्भविद् डा.सापकोटा, केन्द्रका प्रमुख लोकविजय अधिकारी, भरतप्रसाद कोइरालालगायत पनि थर्कमान भए ।‘शनिवारको भुकम्पले बचेको पनि लाने भयो’ भन्दै सबै गुरुरु बाहिरतिर निस्किए, कोही भित्तामा अडेस लागे । शनिवारकै भुकम्पको कम्पनले केन्द्रको भवन चर्काएको छ । भुगर्भविद्हरुले त्यसको जानकारी विभागमातहतको उद्योग मन्त्रालयका सचिव जयमुकुन्द खनाल र गृह मन्त्राललाई गराएका छन् । भुगर्भविद् भन्दै थिए, ‘ज्यानै जोखिममा राखेर भुकम्प अपडेट गराइरहेका छौं ।’ केहीबेरमै कम्पन रोकिएपछि केन्द्रका प्रमुख लोकविजय अधिकारी कम्प्युटरतिर दौडिए । विभिन्न केन्द्रले दिएका सूचना विश्लेषण गर्दै आँकलन गरे– ‘दोलखा र सिन्धुपाल्चोकको सीमालाई केन्द्रविन्दु बनाएर ६.९ रेक्टर भुकम्प गएछ ।’ जुन २०४५ सालको भन्दा ठूलो हो । २०४५ सालमा ६.८ रेक्टरस्केलको गएको थियो । त्यतिखेर ७ सय ५० जनाको ज्यान गएको थियो ।शनिवार ११ः५६ देखि तारान्तर भुकम्प गईरहेपछि केन्द्रमा भुगर्भ विभागका महानिर्देशक डा.सर्वदेवप्रसाद महतो र उपहानिर्देशक डा.सापकोटासहित आधा दर्जन भुगर्भविद् राष्ट्रिय भुकम्प मापनकेन्द्र लैनचौरमा खटिएका छन् । शनिवारदेखि २४ अै घण्टा केन्द्रका प्रमुख तथा भूगर्भविद् अधिकारी, उमेशप्रसाद गौतम, भरतप्रसाद कोइराला र रत्नमणी गुप्तासहितको भुगर्भविद्को टोली भुकम्पको तथ्यांक अपडेटमा व्यस्तछ ।केन्द्रले ४ रेक्टरभन्दा बढीको भूकम्पको धक्का आउने बित्तिकै गृहमन्त्रालयलाई जानकारी गराउने गरेको महानिर्देशक महतोले ईकान्तिपुरलाई बताए । ४ रेक्टरभन्दा साना भूकम्पले खासै असर नगर्ने रहेछ । केन्द्रका प्रमुख अधिकारीले ४ भन्दा साना त दुई सयको हाराहारीमा भुकम्प गइसकेको ईकान्तिपुरलाई बताए ।विभागले भुकम्प मापन गर्न मुलुकका २१ स्थानमा भुकम्प मापन केन्द्र स्थापना गरेको छ । काठमाडौं र वीरेन्द्रनगरमा रहेका दुई स्टेशनबाट भुकम्पको विश्लेषण गरी सूचना प्रवाह गरिन्छ । २१ मध्येकाठमाडौंमा भएको केन्द्रीय स्टेशनले प्युठानदेखि पूर्व रहेका १२ वटा केन्द्रले दिने सूचनालाई विश्लेषण गरी सर्वसाधारणमा सम्प्रेषण गर्ने भूगर्भविद् उमेशप्रसाद गौतमले बताए ।सुर्खेतको वीरेन्द्रनगरमा रहेको स्टेशनले प्युठानदेखि पश्चिमको बैतडीसम्म रहेका ९ वटा मापन केन्द्रले दिने सूचनालाई विश्लेषण गरी तथ्यांक अपडेट गर्छ । विभागका उपमहानिर्देशक तथा भूगर्भविद् डा.सापकोटाका अनुसार केन्द्रले नेपालको मात्रै होइन ५ रेक्टरभन्दा ठूला विश्वमा जुनसुकै स्थानमा भुकम्प गए पनि मापन गर्छ ।‘अहिले हामीसंग प्रविधि छ, क्षणभरमै मापन गरी सूचना प्रवाह गर्न सक्षम छौं’, उनले भने । ८ हजार ५ सय १९ जनाको ज्यान जाने गरी १९९० सालमा आएको ८.५ रेक्टरको भूकम्प २ मिनेटसम्म गएको थियो । अहिलेजस्तो प्रविधि र भुकम्प मापन गर्ने केन्द्रसमेत थिएन । तर, त्यतीबेला ६ दिनसम्म कम्पन आइरहेको ब्रम्हशमशेर जबराले वि.स १९९१ मा आफ्नो पुस्तकमा लेखेका छन् । त्यतिबेला र अहिलेको भूकम्पको प्रकृति एउटै भएको डा.सापकोटाले बताए ।
Via: http://www.ekantipur.com/np/2072/1/14/full-story/408044.html
No comments:
Post a Comment